काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकासमा अधिकतम उपयोग गर्न आग्रह गरेका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद्का प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ सोच र विकासका उपायमा केन्द्रित हुन आग्रह गरेका हुन्।
“तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,” प्रधानमन्त्री शाहले भने।
उनले निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई प्राथमिकता दिन सांसदहरूलाई सुझाव दिए।
प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘असाधारण’ मानिसको संज्ञा दिँदै उनीहरूबाट नयाँ सोच, उपाय र योगदानको अपेक्षा रहेको बताए।































