१३ असोज, काठमाडौं । म्यानमारको पश्चिमी राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।
सोमबार बजारनजिक सेनाको लडाकु विमानले दुईवटा बम खसालेको बताइएको छ। आक्रमणका बेला बजारमा व्यापारी तथा ग्राहकको भीड रहेको जनाइएको छ।
घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको छ।
विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा भएको घटनाबारे म्यानमार सेनाले तत्काल प्रतिक्रिया दिएको छैन।
अराकान आर्मीले आक्रमण नियोजित भएको दाबी गर्दै जिम्मेवार पक्षविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।
सन् २०२१ मा सेनाले निर्वाचित सरकार अपदस्थ गरेपछि म्यानमारमा जारी द्वन्द्वका क्रममा विभिन्न क्षेत्रमा हिंसात्मक घटना हुँदै आएका छन्।































