१३ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानसँग गोप्य भेटवार्ता गरेको पुष्टि भएको छ।
यूएईको सरकारी समाचार संस्था डब्लूएएमका अनुसार नेतन्याहु र राष्ट्रपति नाह्यानबीच सोमबार अबुधाबीमा भेट भएको हो। भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।
नेतन्याहुले सप्ताहन्तमा अबुधाबीको गोप्य भ्रमण गरेका थिए। यसअघि इजरायली सञ्चारमाध्यमले भ्रमणबारे समाचार सार्वजनिक गरे पनि यूएईले औपचारिक पुष्टि गरेको थिएन।
यसैबीच, सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणअघि यूएई राष्ट्रपतिले नेतन्याहुलाई सम्भावित ठूलो आक्रमणबारे चेतावनी दिएको दाबीसमेत सार्वजनिक हुँदै आएको छ। नेतन्याहुको कार्यालयले भने त्यस्तो सूचना प्राप्त नभएको दाबी गर्दै आएको छ।
सन् २०२० मा भएको अब्राहम सम्झौतापछि इजरायल र यूएईबीच कूटनीतिक सम्बन्ध सामान्य बनेको थियो। नेतन्याहुको पछिल्लो भ्रमण आगामी अक्टोबरमा हुने भनिएको इजरायली संसदीय निर्वाचनअघि भएको हो।
































