१२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर नियमअनुसार सेवामा नफर्किएका तथा फर्किए पनि तोकिएको अवधि पूरा नगरेका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख रुपैयाँ असुल गरेको छ।
विश्वविद्यालयका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट उक्त रकम उठाइएको हो। अध्ययन बिदाका क्रममा प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जानासमेत जोडेर रकम असुल गरिएको छ।
अहिलेसम्मको विवरणअनुसार थप २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ। सम्बन्धित शिक्षक तथा कर्मचारीको अभिलेख खोजी गरी रकम असुल गर्ने प्रक्रिया जारी रहेको त्रिविले जनाएको छ।
त्रिविले नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेकालाई आगामी पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
तोकिएको समयभित्र सम्पर्क नगरे कानुनी कारबाही अघि बढाउने त्रिविले जनाएको छ।
































