१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको अधिवेशनबाट देशभर झण्डै ४४ हजार युवा नेतृत्वमा आएका छन्।
कांग्रेसको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झण्डै ४४ हजार युवाले पदीय जिम्मेवारी पाएको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले बताए। कुनै पनि पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक भएको पौडेलको भनाइ छ।
कांग्रेसको विधानमा गरिएको नयाँ व्यवस्थाअनुसार, हरेक वडाबाट ३५ वर्ष मुनिका एक महिलासहित कम्तीमा तीन युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनुपर्छ। जसले गर्दा ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाको दरले २० हजार २२९ जना निर्वाचित भएका छन्।
तर सबै वडामा क्रियाशिल सदस्य संख्याका आधारमा कम्तीमा तीन जनादेखि बढीमा सात जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। त्यो अनुसार औसतमा पाँच जना निर्वाचत भएका छन्। जसले गर्दा ३३ हजार ७१५ जना ३५ वर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रुपमा आएको उनले जानकारी दिए।
त्यस्तै, हरेक गाउँपालिकाको वडामा एक जना र नगरपालिकाको वडामा दुई जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ। अहिले गाउँपालिकातर्फ तीन हजार २१५ वडा रहेका छन् भने नगरपालिकातर्फ तीन हजार ५२८ वडा छन्।
त्यसैले गाउँपालिकाको वडामा तीन हजार २१५ जना वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिकामा दुई जनाको दरले सात हजार ५६ जना युवा वडा सदस्य बनेका छन्।
यसरी कुल क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ जना र वडा सदस्य १० हजार २७१ जना गरी कुल ४३ हजार ९८६ जना युवाले पदीय जिम्मेवारी पाएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले बताए।
क्षेत्रीय प्रतिनिधिबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा तीन जना चयन भइसकेका छन् भने प्रदेश निर्वाचन क्षेत्रमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा दुई जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना कार्यसमितिमा निर्वाचित हुँदै छन्।
त्यसैगरी क्षेत्रीय प्रतिनिधिमध्ये हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाको दरले देशभरीबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक–एक जनाको दरले १६५ जना महासमिति सदस्य चयन हुन लागेको कटुवालले जानकारी दिए।
कांग्रेस विधानको नयाँ व्यवस्थाअनुसार, हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि हुनेछन भने सातै प्रदेशमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य हुनेछन्।
केन्द्रीय कार्यसमितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट एक युवक र एक युवतीसहित कुल १४ जना युवा प्रवेश गर्ने भएका छन् ।
































