५ असाेज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको पुनर्गठन र पुस्तान्तरणको दबाबका बीच आफूले बाहिरी दबाबका आधारमा नेतृत्व नछाड्ने स्पष्ट पारेका छन्।
केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पुनर्गठनको अहिलेको बहस आफूलाई विस्थापित गर्ने उद्देश्यले अघि सारिएको बताएका छन्।
पार्टीको महाधिवेशन, कमिटी र विधानबाट हुने निर्णय भने आफूले स्वीकार गर्ने उनको भनाइ छ।
नेतृत्व हस्तान्तरणका लागि विधि, समय र तयारी आवश्यक पर्ने भन्दै ओलीले हतारमा नेतृत्व परिवर्तन गर्दा अस्थिरता निम्तिन सक्ने तर्क गरेका छन्।
पुस्तान्तरणलाई पुरानो र नयाँ पुस्ताबीचको संघर्षका रूपमा बुझ्न नहुने उनको भनाइ छ।
संकटको समयमा नेतृत्वबाट पछि हट्नु गैरजिम्मेवार हुने उल्लेख गर्दै ओलीले अहिले नेतृत्वमा रहनु पदको लोभ नभई ऐतिहासिक जिम्मेवारी भएको दाबी गरेका छन् ।
































