Skip

Hamro Sanchar

अर्थमन्त्री वाग्ले भारत प्रस्थान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १ गते


Advertisement

१ असोज, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले ३ दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।

भारत सरकारको निमन्त्रणामा वाग्ले आज बिहान ७ः३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।

भारत भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उनको सचिवालयले जनाएको छ।

वाग्लेले आज साँझ ५ः०० बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने तालिका छ। साथै शुक्रबार बिहान वाग्ले भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। भोलि साँझ ५ः०० बजे वाग्ले भारतीय विदेशमन्त्री डा। एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

शुक्रबार साँझ ७ः३० बजे भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि वाग्ले सहभागी हुने उनको सचिवालयले जनाएको छ।

त्यसैगरी, शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा वाग्ले सहभागी हुनेछन्।

सोही दिन ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। वाग्ले शनिबार साँझ ४ः०० बजे स्वदेश फिर्ता हुने कार्यतालिका छ।

उनको भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावास उपनियोग प्रमुख डा सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत लगायत सहभागी छन् ।


प्रतिकृया दिनुहोस्