२६ साउन, काठमाडौँ । नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
घटनापछि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको र अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दासमेत बेवास्ता गरिएको कांग्रेसको आरोप छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले सुनसरी घटनालाई राष्ट्रमा आइपरेको संकटका रूपमा लिएर शान्ति र सद्भाव कायम गर्न पार्टीले भूमिका निर्वाह गरेको जनाएको छ।
घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्न आफूहरूले यसअघि नै माग गरेको स्मरण गर्दै कांग्रेसले सरकारी संयन्त्र मात्र सहभागी गराएर गठन गरिने आयोगले सरकारका कमजोरी लुकाउने आशंका व्यक्त गरेको छ।
कांग्रेसले आफ्नो आशंका सही साबित भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र सम्झौताको तत्काल कार्यान्वयनको मागसहित १२ दिनदेखि अनशनरत यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत सरकारले चासो नदेखाएको जनाएको छ।
कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जलगायतका स्थानमा राज्यको दमनका कारण निर्दोष नागरिकले ज्यान गुमाउनुपरेको तथा कैयौँ नागरिकको निजी सम्पत्तिमा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको दाबी गरेको छ।
सरकारले पीडित पक्षलाई न्याय दिने प्रतिबद्धतासहित सम्झौता गरे पनि हालसम्म चार जनालाई सहिद घोषणा गर्नबाहेक अन्य विषय कार्यान्वयन हुन नसकेको कांग्रेसको भनाइ छ।
सरकारको गैरजिम्मेवार रबैयाका कारण स्थानीय समुदायमा आक्रोश बढ्दै गएको र पुनः अर्को दुर्घटना निम्तिन सक्ने खतरा रहेको कांग्रेसले चेतावनी दिएको छ।
कांग्रेसले सरकारसँग भएका सम्झौता तत्काल कार्यान्वयन गरी पीडितलाई न्याय र राहत दिनसमेत माग गरेको छ।
साथै कांग्रेसले सरकारले विभिन्न पेसा, व्यवसाय र संघसंस्थासँग पटकपटक सहमति गरे पनि त्यसको इमानदार कार्यान्वयन हुन नसकेको आरोप लगाएको छ।































