
काठमाडौं । मेलुङ गाउँपालिकाको आयोजनामा काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सोमबारदेखि ‘क्यानभासमा मेलुङ’ प्रदर्शनी सुरु भएको छ। मेलुङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, जनजीवन र स्थानीय पहिचानलाई कलाकारहरूको सिर्जनशील दृष्टिबाट क्यानभासमा उतारिएका कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन्।
प्रदर्शनीको उद्घाटन गर्दै हिराकुमार तामाङले कला कुनै स्थानको परिचयलाई विश्वसामु पुर्याउने प्रभावकारी माध्यम भएको बताए। उनले मेलुङको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदालाई चित्रमार्फत प्रस्तुत गरिनु गाउँपालिकाको पहिचान प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। यस्ता कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण र सिर्जनशील प्रतिभाको सम्मान गर्न उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले कलाकारहरूले आफ्नो सिर्जनामार्फत मेलुङको आत्मा र मौलिकतालाई जीवन्त रूपमा अभिव्यक्त गरेको भन्दै भविष्यमा पनि कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि गाउँपालिका प्रतिबद्ध रहने धारणा राखे।
विक्रम तामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गायत्री आचार्य, नारदमणि हार्तम्छाली, देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, सञ्जय वान्तवा, अरुणा हिङमाङ लगायत कलाकार, पत्रकार तथा कला पारखीहरूको उपस्थिति रहेको थियो।
प्रदर्शनीमा मेलुङका मनोरम पहाडी दृश्य, हरियाली वनजङ्गल, परम्परागत बस्ती, धार्मिक तथा सांस्कृतिक सम्पदा, कृषिजन्य जीवनशैली र स्थानीय जनजीवनका विविध आयाम समेटिएका चित्रहरू प्रदर्शित छन्। प्रत्येक कलाकृतिले मेलुङको मौलिक सौन्दर्य, सामाजिक जीवन र सांस्कृतिक विविधतालाई फरक–फरक शैलीमा प्रस्तुत गरेको छ।
प्रदर्शनी असार १७ गतेसम्म सञ्चालन हुनेछ।































