
२० जेठ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली फागुनमा भएको निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।
एमाले केन्द्रीय संगठन विभागको आयोजनामा आज हुन लागेका ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा ओली सहभागी हुन लागेका हुन् । कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले गर्ने छन् ।
निर्वाचनमा पराजित भएपछि उनी कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन् । एमालेले आयोजना गर्न लागेको कार्यशाला बिहीबारसम्म चल्नेछ ।
काठमाण्डुको बबरमहलस्थित कार्की बैंक्वेटमा कार्यशाला हुँदैछ ।
पार्टीको सांगठनिक सुदृढीकरण तथा गतिशीलतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवाससमेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहने छ।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति तथा भावी योजनाबारे सघन छलफल र उत्प्रेरणामूलक अभिमुखीकरण गरिने छ।






























