
१९ जेठ, कर्णाली । जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगर नगरपालिका–६ तल्लोबजारस्थित श्यामसुन्दर अग्रवालको शिव इम्पेरियम (कपडा पसल) मा सोमबार साँझ छापा मारी सुनचाँदीका झण्डै ३ करोड मूल्यका गहनासहित २ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ र ८ लाख ११ हजार ८ सय भारतीय रुपैयाँ (१२ लाख ९८ हजार नेपाली रुपैयाँ)बरामद गरेको छ ।
भारतीय मूलका व्यापारी ६३ वर्षीय अग्रवाल नेपालगन्ज उपमहानगरपालिका–१० का स्थायी बासिन्दा हुन् ।
आफ्ना बुवाले सुरु गरेको व्यवसाय विस्तार गरी उनले थोक मूल्यमा कपडाको व्यापार गर्दै आएका थिए ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी कविन्द्रसिंह बोहराका अनुसार इम्पोरियममा भारतीय रुपैयाँ र गरगहना धितो राखी उच्च ब्याजमा नगद दिने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।
व्यापारी अग्रवालको गोदाममा सुन र चाँदीका गरगहना राखिएका १ सय ८५ थान बट्टा, पोका र डिब्बा बरामद गरिएको छ ।
उनको गोदामबाट पैसा गन्न प्रयोग हुने मेसिनसमेत बरामद गरिएको उनले जानकारी दिए ।






























