
१७ जेठ, काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटको आफ्नो पहिलो खेलमा चीनविरुद्ध २२१ रनको सानदार जित दर्ता गरेको छ ।
आइतलबार सिंगापुर नेस्नल क्रिकेट ग्राउन्डमा नेपालले प्रस्तुत गरेको ३१४ रनको लक्ष्य पछ्याएको चीन १९।२ ओभरमा ९२ रनमै समेटियो ।
चीनका शेनजियान झेङले ३१, डु जियानहाओले १७ र कप्तान तियान सेनकुनले १३ रन जोडे ।
नेपालका कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । सोमपलाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट हात पार्दा नन्दन यादवको नाममा एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा दुई विकेट गुमाएर ३१३ रन बनाएको हो । यो टी–२० अन्तर्राष्ट्रियमा नेपालले खडा गरेको दोस्रो ठूलो योगफल हो । यसअघि नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।
टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक योगफलको कीर्गिमान भने जिम्बाबेको नाममा छ । टोलीले सन् २०२४ मा गाम्बियाविरुद्ध २४४ रनको योगफल खडा गरेको थियो ।
नेपालका कुशल भुर्तेलले १२९ रनको इनिङ खेले । उनले ४३ बलमा १६ छक्का र पाँच चौका प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो दोस्रो शतक हो ।
योसँगै कुशल टी–२० अन्तर्राष्ट्रियमा दुई शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् । कुशलले यही खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा दुई हजार रन पनि पूरा गरेका छन् ।
यो उपलब्धि हासिल गर्ने उनी दोस्रा नेपाली ब्याटर हुन् । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि नै टी–२० अन्तर्राष्ट्रियमा दुई हजार १८० पूरा गरिसकेका छन् ।
कुशल मल्लले अविजित ८५ रनको योगदान गरे । उनले ४७ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे ।
रोहितकुमार पौडेल ६९ रनमा अविजित रहे । उनले २१ बलमा सात छक्का र पाँच चौका प्रहार गरे । आसिफ शेखले ११ रन जोडे ।
मल्लले दोस्रो विकेटका निम्ति भुर्तेलसँग १७५ तथा तेस्रो विकेटका लागि पौडेलेसँग अविजित ११६ रनको साझेदारी गरेका थिए । चीनका मा कियानचेङ र डेङ जिन्कीले समान एक विकेट लिए ।
जितसँगै समूह ‘ए’को नेपालले दुई अंक जोडेको छ । अब नेपालले बिहीबार मलेसियाको सामना गर्नेछ




























