
१३ जेठ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएपछि काठमाडौंमा आगजनीका घटना झन् बढेको निष्कर्ष निकालेको छ ।
२०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा भएका मानवअधिकार हनन्का घटना छानबिनपश्चात् आयोगले तयार पारेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
“…सुरक्षाको कारण देखाउँदै रवि लामिछाने कारागारबाट बाहिरिएपश्चात् सो कारागारका बन्दीहरू कारागार तोडी बाहिर निस्किएको पाइन्छ । ततपश्चात् काठमाडौंमा आगजनी झन् बढेको मिसिल प्रमाणबाट देखिन्छ,” प्रतिवेदनमा भनिएको छ।
भदौ २४ गते लामिछाने थुनामा रहेको ललितपुरको नक्खुस्थित कारागारमा रास्वपाका नेता तथा तत्कालीन सांसदहरू मनिष झा र हरि ढकालसहितको भिडले कारागार घेरेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि लामिछाने कारागारबाट बाहिरिएका थिए ।




























