Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकामा ४ महिने आईटी तालिम सम्पन्न : ३४ युवालाई प्रमाणपत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ११ गते


काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा सञ्चालन गरिएको ४ महिने सूचना–प्रविधि (आईटी) तालिम सम्पन्न भएको छ। तालिम पूरा गरेका ३४ जना युवालाई एक विशेष कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको हो।

जेनिस सोलुसनको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा १ सय ५० युवाको सहभागिता रहेको थियो। सहभागीमध्ये ३४ जनाले नियमित रूपमा ४ महिने तालिम पूरा गर्दै व्यावहारिक तथा प्रविधिमैत्री सीप हासिल गरेका हुन्।

तालिम सम्पन्न गरेका युवालाई नगरप्रमुख उपेन्द्र कार्कीले प्रमाणपत्र वितरण गर्दै सूचना–प्रविधिको युगमा सीपयुक्त जनशक्ति निर्माण गर्नु स्थानीय सरकारको प्रमुख प्राथमिकता रहेको बताए।

उनले युवालाई सीप, प्रविधि र रोजगारीसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम आगामी दिनमा अझ प्रभावकारी र व्यापक बनाइने उल्लेख गरे। नगरप्रमुख उपेन्द्र कार्कीले तालिम प्राप्त युवालाई नगरपालिका मातहतका कार्यालय, सामुदायिक सहकारी संस्था तथा स्थानीय निजी क्षेत्रसँग समन्वय गरी रोजगारीका अवसर सिर्जना गरिने जानकारी दिए।

“हामी केवल तालिम दिने काममा सीमित छैनौं, दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीसँग जोड्ने दीर्घकालीन योजना अघि बढाइरहेका छौं,” उनले भने, “कागेश्वरी मनोहरा नगरपालिकालाई भविष्यमा ‘आईटी हब’का रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो।”

जेनिस सोलुसनका अनुसार तालिमबाट दक्ष बनेका ४ जना युवाले अफर लेटरसमेत प्राप्त गरेका छन्। संस्थाले सीपयुक्त जनशक्ति उत्पादन गरी श्रम बजारमा सहज पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

नगरपालिकाले आगामी दिनमा पनि प्रविधिमैत्री तथा रोजगारमुखी सीप विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


प्रतिकृया दिनुहोस्