
११ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संसद्मा सम्बोधन नगरेको विषयलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने भएका छन् ।
यही जेठ १५ गते सरकारकै आयोजनामा टुँडीखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टको उपस्थितिमा गणतन्त्र दिवस मनाउने गरिन्छ ।
त्यस दिन प्रधानमन्त्रीले सम्बोधन पनि यसअघि गर्दै आएका हुन् । तर, योपटक भने गणतन्त्र दिवसलाई सम्बोधन गर्ने परम्परा पनि तोडिने भएको हो ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी रहेको बताइन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेर गणतन्त्र दिवसमा राष्ट्रपतिबाट सम्बोधनका लागि सिफारिस गरिएको छ ।
फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा प्रचण्ड बहुमत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाएपछि पहिलो गणतन्त्र दिवस आउँदै छ । गत चैत १२ गते प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री बालेनले त्यसपछि एकपटक मात्र खरीपाटीमा सेनाको कार्यक्रममा सम्बोधन गरेका छन् । र तीनपटक मात्र संसद् बैठकमा गएका छन् । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २८ गते प्रस्तुत गरिरँदा संसद्को संयुक्त बैठकबाट बीचमा हिँडेका प्रधानमन्त्री बालेनत्यसयता संसद्मा पनि गएका छैनन् ।
विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको खाेजि गरी बैठक अवरोध गरिरँदा सभामुख डीपी अर्यालले भने विपक्षी दलको विरोधका बाबजुद बैठक चलाउँदै आएका छन् । हालसम्म प्रधानमन्त्री बालेनले राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत गरेका छैनन् । राष्ट्रपतिका सल्लाहकार मानिने प्रधानमन्त्री यसअघि हप्ता वा केही दिनको फरकमा राष्ट्रपति भवन शीतलनिवास पुग्ने गर्थे । तर, बालेनले यो परम्परा पनि तोडेका छन् ।





























