
७ जेठ, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना वचतकर्ताको रकम फिर्ता गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधवार कृषि सहकारी तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका साना वचतकर्ताको वचत रकम फिर्ता गरेको हो ।
समितिका अनुसार बुधवार कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले वचत फिर्ता पाएका हुन् ।
यसअघि समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना तथा पशुपति सहकारी ७ जना गरी ३७८ जना साना वचतकर्ताको रकम फिर्ता गरेको थियो ।
समितिका अनुसार पहिलो चरणमा थोरै वचत रकम भएका वचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः वचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ।
समितिका अनुसार समस्याग्रस्त सहकारीका करिव ७६ हजार वचतकर्ताहरूको करिव ४६ अर्ब रुपैयाँ वचत फिर्ता गर्नु पर्नेछ । तीमध्ये अधिकांश साना वचतकर्ता रहेका छन् ।
पाँच लाखभन्दा कम रकम वचतकर्तालाई साना वचतकर्ता र पाँच लाखभन्दा बढी रकम वचतकर्तालाई ठूला वचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।
कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।













