
२८ बैशाख, काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको कदममाथि प्रश्न उठाएका छन् ।
संसद्मा राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा प्रधानमन्त्री सदनबाट बाहिरिएपछि शाहीले असन्तुष्टि व्यक्त गरेका हुन् ।
शाहीले आज साँझ फेसबुकमा लेखेका छन्, संसद्मा राष्ट्रपतिबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रम नसुनी प्रधानमन्त्री बाहिरिनुभयो । तर संवैधानिक रूपमा राष्ट्रपतिले पढ्नुभएको दस्तावेज सरकारकै हो, अर्थात् प्रधानमन्त्रीकै नेतृत्वमा तयार गरिएको नीति तथा कार्यक्रम । आफ्नै सरकारले बनाएको नीति प्रधानमन्त्री आफैंलाई मन परेन कि क्या हो, त्यसैले अब संशोधनसहित नीति तथा कार्यक्रम पुनः लेख्नुपर्ने अवस्था आएको छ ।
प्रधानमन्त्रीको यस कार्यप्रति अन्य दलका सांसदहरूले पनि अस्वाभाविक भएको टिप्पणी गरिरहेका छन् ।













