
१९ बैशाख, काठमाडौं। श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीका बस्ती भत्काउने क्रममा गुम्बा र मन्दिर भत्काएको विषयलाई लिएर कडा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले प्रधानमन्त्री बालेन साहको कदमप्रति प्रश्न उठाउँदै यसले धार्मिक सहिष्णुतामाथि प्रहार गरेको आशय व्यक्त गरेका हुन् ।
साम्पाङले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् , “गुम्बा र मन्दिर भत्काउने बालेनलाई के भन्नु हुन्छ? अब भगवानले पनि धनीपूजा बनाएर आउनु पर्ने भो यो धर्तीमा फेरि! नत्र एक दिन यसले पशुपति र बौद्धलाई पनि नछोड्ला जस्तो देखियो!”
उनको यो भनाइले बालेन शाहले काठमाडौंमा अनधिकृत संरचना भत्काउने अभियान चलाइरहँदा धार्मिक स्थलहरूमा पनि हस्तक्षेप गरेको विषयमा जनमानसमा उठेका प्रश्नहरूलाई प्रतिविम्बित गरेको छ।साम्पाङले अर्को एक स्टाटसमा मानवताको मापदण्ड पूरा गर्नुपर्नेमा जोड दिँदै क्रुर र हिंस्रकहरूलाई गल्हत्याउने बेला आएको संकेत गरेका छन् ।
उनले लेखेका छन् , “मानवताको मापदण्ड पूरा गरौँ पहिले! क्रुर र हिंस्रकहरूलाई गल्हत्याउने बेला आयो अब! सहयोग गर्न सक्छौँ?” यसले साम्पाङले बालेनको अभियानलाई क्रुर र हिंस्रकको संज्ञा दिएको बुझिन्छ।
बालेन शाहले आफ्नो कार्यकालमा अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिइरहँदा कतिपयले यसलाई स्वागतयोग्य कदम भनेका छन् भने कतिपयले यसको कार्यान्वयन शैली र धार्मिक तथा सांस्कृतिक संवेदनशीलतामा ध्यान नदिएको भन्दै आलोचना गरिरहेका छन्। हर्क साम्पाङको यो भनाइले यस बहसलाई थप चर्काएको छ।














