
१५ बैशाख, काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन खुलेको छ ।
बोर्डको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै योग्य इच्छुक नेपाली नागरिकलाई व्यक्तिगत विवरण पेस गर्न अनुरोध गरेको हो ।
सूचना अनुसार अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको व्यावसायिक अनुभव भएको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदनका साथमा व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभवका प्रमाणित कागजातहरू तथा तोकिएको ढाँचाको स्वघोषणा फाराम संलग्न गर्नुपर्नेछ ।
आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाुमा रहेको समितिको सचिवालयमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।











