Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रतिशोध र निषेध राजनीतिमा हुनुहुँदैन : पूर्वराजा ज्ञानेन्द्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ३० गते


Advertisement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा प्रतिशोध र निषेधको भावना राख्न नहुने बताएका छन्।

सोमबार नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले मिलेर अघि बढ्नुपर्ने औँल्याएका छन्। ‘निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौँ। परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनुहुँदैन,’ उनले भनेका छन्, ‘जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौँ। संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न दृढसंकल्पित बनौँ।’

उनले देशमा कुनै प्रकारको व्यवधान पर्न नदिन सरकार सतर्क हुनुपर्नेमा जोड दिएका छन्। शाहले भनेका छन्, ‘आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई जोगाउने, हाम्रा उत्पादित, आयातित वस्तुको जोगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिनेतर्फ राज्यको गहिरो ध्यान पुग्नुपर्ने देखिन्छ।’

अहिलेसम्म राजनीतिकका परिवर्तनका देशलाई प्रयोगशाला बनाइएको जिकिर गरेका छन्। ‘विगतका कतिपय वर्ष वाञ्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो। राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हेर्‍यौँ, तर त्यो कोरा परिवर्तन मात्र भयो,’ शाहले भनेका छन्, ‘दलदलको खलबलमा त हामी धेरै दगुर्‍यौँ तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडि पर्‍यौँ। सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्र हामी लाग्यौँ। फलस्वरूप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो।’

अब विगतका कमिकमजोरी सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ छ। ‘समयको प्रवाहसँगै हामीले हाम्रो देश र हाम्रो समाजलाई प्रगति पथमा अघि बढाउँदै जानुपर्दछ,’ उनले भनेका छन्, ‘विगतका कमी कमजोरी र त्रुटिलाई सच्याउँदै र बाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्यतर्फ लम्किनुपर्दछ।’

उनले सबै नेपालको सुख र शान्तिको कामना गरेका छन्। नयाँ वर्षको शुभकामना दिँदै पूर्वराजा शाहले भनेका छन्, ‘नेपाल शान्तिको भूमि बनोस्, उन्नतिको मुलुक बनोस् अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस् । सबै नेपालीले न्याय, शान्ति र सुख पाऊन्, यही हाम्रो सदिच्छा हो।’


प्रतिकृया दिनुहोस्