Skip

Hamro Sanchar

म घुस खान आएको होइन: अर्थमन्त्री वाग्ले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १६ गते


काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रका निम्ति प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले अब निजी क्षेत्रले घुस खुवाउन, सरकारी निकायमा लाइन लाग्न र सामान्य आर्थिक गतिविधिका कारण थुनिनु नपर्ने स्पष्ट पारेका हुन् ।

सोमबार (चैत १६) नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढाउने नीति लिइएको बताए । “अब निजी क्षेत्रले दुःख पाउने अवस्था अन्त्य हुन्छ, हामी तपाईंहरूको सहयात्री हौँ,” उनले भने ।

लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे । लगानी बढाएर रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने उनले बताए ।

अर्थमन्त्री वाग्लेले आफू भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको जनाउँदै भने, “म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्नँ ।”

अर्थतन्त्रलाई नयाँ गति दिन आफू प्रतिबद्ध रहेको उनले बताए । उनले अब सामान्य प्रकृतिका आर्थिक अनियमिततामा कैद सजायभन्दा जरिवानामा केन्द्रित हुने जानकारी दिए । उनले भने, “आर्थिक बेइमानीमा अब हामी आर्थिक जरिवानामा जान्छौँ, उद्योगी–व्यापारी थुनिनु पर्दैन ।”

राज्यले सहजीकरण गर्दा निजी क्षेत्रबाट पनि इमानदारीको अपेक्षा गरिएको उनले स्पष्ट पारे । “राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्रले पनि बेइमानी नगर्ने अपेक्षा छ,” उनले भने, “यदि, नियोजित रूपमा बेइमानी गरिन्छ भने त्यसमा हामी निर्मम हुनेछौँ ।


प्रतिकृया दिनुहोस्