Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ गागलमा निर्माण सम्पन्न श्री पेमा होईसाललिङ गुम्बा बुधबार उद्घाटन हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २७ गते


काठमाडौं, माघ २७- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १, गागलमा निर्माण सम्पन्न भएको श्री पेमा होईसाललिङ गुम्बा बुधबार भव्य रूपमा उद्घाटन हुने भएको छ।

गुम्बा भवनको उद्घाटन र मूर्ति प्राण प्रतिष्ठान (राभ्ने पूजा) कार्यक्रम २०८२ माघ २८ गते बुधबार धर्मगुरु घ्याङ्दी रिन्पोछेको उपस्थितिमा सम्पन्न हुने तय भएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि र धार्मिक अनुष्ठान रिन्पोछे को उपस्थितिमा मूर्ति प्राण प्रतिष्ठा (राभ्ने पूजा) समेत सम्पन्न हुने छ। उद्घाटन कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, उप प्रमुख शान्ता थापा लगाएत जनप्रतिनिधिहरूको उपस्थिति रहने जनाईएको छ ।

गुम्बा निर्माण स्थानीय धर्मप्रेमीहरूको सक्रिय सहयोग र चन्दा संकलनमार्फत सम्पन्न भएको हो। गुम्बा निर्माणको थालनी स्थानीय बौद्ध समुदाय र धर्मगुरुहरूको परिकल्पना अनुसार गरिएको थियो। आर्थिक र व्यवस्थापन सहयोगबाट गुम्बा भवन, मूर्ति तथा अन्य आवश्यक संरचना निर्माण पूरा गरिएको छ।

गुम्बा निर्माण कार्य प्रमुख लामा मान बहादुर लामाको परिकल्पना अनुसार स्व. गुरु लामाको अध्यक्षतामा स्थानीय वासीहरूले सुरु गरेका थिए। गुम्बा निर्माणको औपचारिक अनुमति तत्कालीन गुम्बा व्यवस्था तथा विकास समितिबाट २०६६/०५/०३ मा प्राप्त भएको थियो। करिब ३५० स्थानीय तामाङ बौद्धमार्गीको बसोबास रहेको उक्त क्षेत्रमा स्थानीय धर्मप्रेमीहरूको चन्दा संकलन गरी सार्वजनिक र निजी जग्गामा निर्माण कार्य सुरु भएको थियो।

२०७२ सालको महाभूकम्पपछि स्थानीय समुदायमा पुनः जागरुकता बढ्दै गयो। यस अवसरमा डुल्कु लामा बञ्जुको अध्यक्षतामा नयाँ गुम्बा विकास समिति गठन गरियो र देश–विदेशमा रहनु हुने धर्मप्रेमीहरूले चन्दा संकलन गरी निर्माण कार्यलाई निरन्तरता दिइयो। संघीय तथा स्थानीय सरकारको सहयोगबाट पनि बजेट विनियोजन भएपछि गुम्बा भवनको निर्माण सम्पन्न भयो।

२०७८ सालमा भवन, शौचालय, भान्साघर र ६ फिट अग्ला तीन मूर्ति निर्माण गरिएको थियो। निर्माण र सरसामग्रीको कुल लागत संघीय तथा स्थानीय सरकारको १ करोड १० लाख र धर्मप्रेमीहरूले संकलन गरेको ५१ लाख गरी १ करोड ६१ लाख रूपैयाँ पुगेको छ।

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिमा २०८२/१०/०८ गते विधिवत रूपमा दर्ता गरिएको छ। समितिका पदाधिकारीहरू यस प्रकार छन्:

  • अध्यक्ष: डुल्कु लामा बञ्जु

  • उपाध्यक्ष: कुबेर मान थिङ

  • महासचिव: बहादुर लामा

  • सचिव: बासुदेव लामा

  • कोषाध्यक्ष: शान्ति तामाङ

  • सदस्य: वीर बहादुर लामा, मेघ बहादुर लामा, धन बहादुर लामा, कुमार लामा, नविना तामाङ, तुलसिमाया तामाङ, राम बहादुर तामाङ, सिमला लामा

कार्यक्रमको तयारी अन्तर्गत स्थानीय महिला समूहको नेतृत्वमा गुम्बा सरसफाइ सम्पन्न भइसकेको छ। साथै भवन संरक्षणका लागि कम्पाउण्ड वाल निर्माण, बोचा निर्माण, नाली व्यवस्थापन, ग्राउण्ड व्यवस्थापन लगायतका कामहरू क्रमिक रूपमा सम्पन्न गरिने योजना बनाइएको छ।

समितिका अध्यक्ष डुल्कु लामा बञ्जुले संघीय तथा स्थानीय सरकार र धर्मप्रेमी चन्दादाताहरूप्रति धन्यवाद व्यक्त गर्दै, आगामी कार्यक्रममा उपस्थित भई गुम्बाबाट आशीर्वाद ग्रहण गर्न आमन्त्रित गरेका छन्। उपाध्यक्ष कुबेर मान थिङले पनि स्वेच्छिक दान गर्ने महानुभावहरूको सहभागिताको अपेक्षा व्यक्त गरेका छन्।

स्थानीय विद्यालय श्री बाल उद्धार मा.वि का विद्यार्थीहरू समेत कार्यक्रममा उपस्थित हुने जनाइएको छ। यसरी गुम्बा उद्घाटन कार्यक्रम स्थानीय समुदायको उत्सवको रूपमा मनाइनेछ।

गुम्बा व्यवस्थापन समितिका सबै पदाधिकारीहरू कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने उत्साहित रहेको र स्वेच्छिक दानमार्फत सहयोग जुटाउने तयारी भइरहेको जनाइएको छ।

गुम्बा व्यवस्थापन समितिका पदाधिकारीहरूले स्थानीय समुदायलाई कार्यक्रममा उपस्थित भएर गुम्बाबाट प्रदान हुने आशीर्वाद ग्रहण गर्न अनुरोध गरेका छन्। साथै, आगामी दिनहरूमा गुम्बाको संरक्षण, सरसफाइ र ग्राउण्ड व्यवस्थापनलगायतका कार्य क्रमिक रूपमा सम्पन्न गर्ने योजना रहेको समितिले जनाएको छ।

स्थानीयवासीहरू र धर्मप्रेमीहरूबीच उद्घाटन कार्यक्रमप्रति ठूलो उत्साह देखिएको र यसले क्षेत्रको धार्मिक र सामाजिक जीवनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्