
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् ।
आफ्नै सम्पर्क कार्यालयमा पत्रकारहरूसँग भेटघाट गरेका कोइरालाले सामाजिक सञ्जालमा नयाँ पार्टीहरूको प्रचार ज्यादा भए पनि कांग्रेसले जनमत नगुमाएको दाबी गरे ।
चुनाव कांग्रेसका लागि आफ्नो सामर्थ्य जाँच्ने समय भएकाले आन्तरिक विवादलाई थन्क्याएर सबैले चुनावी परिणाममा ध्यान दिने बताए ।
कांग्रेस अबको चुनावबाट पनि संसद्को पहिलो पार्टी बन्छ । समाजिक सञ्जालमा प्रचार फरक ढंगले भए पनि कांग्रेसले जनमत गुमाएको छैन,डा. कोइरालाले भने, सबै निर्वाचन क्षेत्रमा उमेदवार भएकाले समानुपातिक मत बढ्नेछ । सबै पार्टी एक्लाएक्लै लडेकाले प्रत्यक्षतर्फको सिट पनि बढ्छ, घट्दैन ।
उनले पार्टीका आन्तरिक विषयमा मतभेद सधैँ रहने भन्दै ती विषय आन्तरिक रूपमै सम्बोधन हुने बताए । पार्टीलाई चुनावी परिणामबाट घाटा हुँदा सिंगो पार्टीको छविमा आँच पुग्ने भन्दै पार्टीको स्ट्रेन्थ घटाउनेगरी कसैले पनि काम नगर्ने विश्वास व्यक्त गरे । हरेक निर्वाचन क्षेत्रमा आफ्नो तयारी राम्रो गरे देशभरको परिणाम राम्रो आउने उनको भनाइ छ ।

















