Skip

Hamro Sanchar

एमालेका साढे ६ लाख सदस्यलाई हस्ताक्षरसहित अध्यक्ष ओलीको सन्देश पत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ११ गते


काठमाडौं । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित साढे ६ लाखभन्दा बढी कार्यकर्तालाई पत्र पठाएको छ।

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा एमालेलाई बहुमतमा पुर्‍याउन भूमिका खेल्न आग्रह गर्दै सन्देश पत्र पठाएको हो। शनिबार साँझदेखि एमाले सदस्यको मोबाइलमा पत्र पुगेको एमाले प्रचार विभाग संयोजक मीनबहादुर शाहीले जानकारी दिए।

एमालेका अनुसार, ६ लाख ६२ हजार ९६१ कार्यकर्ताको सदस्यता नविकरण भएको छ। यो संगठित पार्टी सदस्य संख्या ११औँ महाधिवेशनसम्मको हो। यसबीचमा कतिपय संगठित सदस्यले पार्टी छोडेको र कतिपयको मृत्यु भएको एमालेले जनाएको छ।

कतिपय संगठित सदस्यको मोबाइल नम्बर परिवर्तन भएको र अनलाइन सिस्टममा समस्या आएका कारण पनि सबै सदस्यको मोबाइलमा एकै पटक सन्देश पत्र पुग्न नसकेको एमाले आईटी विभागले जनाएको छ।

ओलीको तस्बिर र हस्ताक्षरसहितको सन्देश पत्रमा भनिएको छ, ‘क…. यहाँलाई अवगत नै छ- आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबीचको हार-जितको फैसला गर्नेछ। देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ। अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु।’

केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा, टोल, प्रवास, जनसंगठन, विभाग र सल्लाहकार गरी एमालेका ६४ हजार ७०६ कमिटी छन्। त्यसमध्ये जन संगठनको संख्या यकीन तथ्याङ्क अध्यावधिक नभएको र सबै अध्यावधिक हुँदा यो संख्या बढ्ने शाहीको भनाइ छ। सबै कमिटीमा करिब १२ लाख ६९ हजार एक सय ६१ सदस्य आबद्ध रहेको उनले जानकारी दिए।

निवेदन आएका र कमिटीमा बसेका करिब डेढ लाख सदस्य संगठित हुन बाँकी रहेको एमालेले जनाएको छ। एमालेमा जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च एक सय ३ जिल्ला कमिटी छन्। त्यस्तै, महानगर, उपमहमानगर, नगर र गाउँपालिकामा एक हजार ६७ कमिटी रहेको एमालेले जनाएको छ। देशैभर ७ हजार ७ सय ६० वडा कमिटी र ५५ हजार ७ सय ७६ टोल कमिटी छन्।

कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १ सय ३६ पालिका कमिटी रहेका छन् भने ११ सय ५७ वडा कमिटी र सात हजा १०१ टोल कमिटी रहेको एमालेको तथ्यांक छ।

मधेस प्रदेशमा ८ जिल्ला कमिटी, एक सय ३६ पालिका, १२ सय ७१ वडा, ६ हजार ५१५ टोल कमिटी रहेका छन्। बागमती प्रदेशम १३ जिल्ला, एक सय ११ पालिका, एक हजार १२१ वडा र १४ हजार २०६ टोल कमिटी रहेको एमालेको तथ्यांक छ।

एमाले प्रचार विभागका अनुसार, गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७५९ वडा र पाँच हजार ५६० टोल कमिटी छन्। लुम्बिनी प्रदेशमा १२ जिल्ला, १०९ पालिका, ९८३ वडा र ९ हजार २६७ टोल रहेको तथ्यांक छ।

कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७१८ वडा र ६ हजार ४५३ टोल कमिटी छन् भने सुदूपश्चिममा ९ जिल्ला, ८८ पालिका, ७३४ वडा र ५ हजार ८५० टोल कमिटी रहेको एमालेले जनाएको छ।

यसका अतिरिक्त समन्वय सम्पर्क अन्तर्गत ७ जिल्ला, ७४ पालिका र ७४३ वडा कमिटी गरी ८२४ वटा सम्पर्क समन्वय कमिटी छन्। प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा गरी कुल १११ कमिटी रहेको एमाले प्रचार विभागले जनाएको छ। प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १४१ पालिका, ४१६ वडा तह गरी ५६७ कमिटी रहेका छन्।

प्रतिनिधि सभाको चुनावका लागि सबै कमिटीलाई सक्रिय बनाएको प्रचार विभाग संयोजक शाहीको भनाइ छ ।


प्रतिकृया दिनुहोस्