Skip

Hamro Sanchar

हरिबोल निष्कासन प्रकरणमा प्रचण्डलाई घनश्यामको आग्रह :  कृपया ! पछि हट्नूस्, अगाडि बाटो छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ११ गते


काठमाडौं । नेकपा (संयुक्त)कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिस्ट पार्टीले सिन्धुलीका नेताद्वय हरिबोल गजुरेल र महेश्वर दाहाललाई गरेको निष्कासनप्रति टिप्पणी गरेका छन्।

आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली-२ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै यसका प्रस्तावक गजुरेल र उम्मेदवार दाहाललाई नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले शनिबार अनुशासनको कारबाही भन्दै पार्टीबाट निकालेका हुन्।

यसप्रति कुनै बेला प्रचण्ड र माधवसँग एउटै पार्टीमा रहेका भुसालले चासो देखाएका हुन्। यस विषयमा उनले प्रचण्डको कडा आलोचना गरेका हुन्।

नेता भुसालले उक्त कारबाहीबाट प्रचण्डलाई पछि हट्न सुझावसमेत दिएका छन्।

‘कमरेड प्रचण्ड ! हरिबोल गजुरेल र महेश्वर दाहालहरूले तपाईँको अनुशासन उल्लंघन गरे होलान्, त्यसको बदलामा अनुशासित र सजिला मानिसहरू भर्ती भइरहेका होलान्। तर नबिर्सिनूस्, तपाईँले आफ्नै जिन्दगीमा गौरव गर्ने केही चिज छ भने त्यो हरिबोल वा महेश्वरहरूजस्ता अप्ठेराहरूले बनाइदिएका हुन्’, उनले लेखेका छन्, ‘तपाईँ र तपाईँहरूजस्ता ‘शक्तिशालीहरू’ले जुन दिनदेखि अप्ठेराहरूको ठाउँमा सजिला र अनुशासित मानिसहरूको भर्ती गर्न थाल्नुभयो तपाईँहरूको गौरवका एक एक गजुरहरू भत्किँदै गए, त्यसको मूल्य हाम्रो समग्र आन्दोलनले भुक्तान गर्दै छ। तपाईँमा कहीँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नूस्, अगाडि बाटो छैन ।


प्रतिकृया दिनुहोस्