Skip

Hamro Sanchar

रुकुम पूर्वमा हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, गाडी र यात्रुको उद्धार हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १० गते


रुकुम (पूर्व) । रुकुम (पूर्व)मा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौंबाट छुटेका बसहरू फसेको खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए । अहिले पनि हिमपात भइरहेको उनले बताए ।

फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । स्काभेटर लगाएर हिउँ पन्छाउने र बाटो खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी परियारको भनाइ छ ।

रुकुम (पूर्व)को हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गएरातिदेखि हिमपात भइरहेको छ । तल्लो क्षेत्रमा वर्षा भएको छ । हिमपातका कारण चिसोले जनजीवन प्रभावित भइरहेको छ । लामो समयपछि भएको वर्षा र हिमपातको कारण किसानहरू खुसी भएका छन् ।

आकाशेपानीको भरमा खेती गरिरहेका किसानको पानी नपर्दा गहुँ बाली सुकिसकेको थियो । लामो समयपछि पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताए ।


प्रतिकृया दिनुहोस्