
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कुनै गुटको आधारमा नभई विधानको आधारमा पार्टी चल्नुपर्ने बताएकी छन् ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले अब पार्टीभित्र अवसरका लागि कुनै नेताको वरिपरि घुम्न नपरोस् भन्ने कामना गरिन् ।
‘कांग्रेस अब गुटबाट मुक्त हुनुपर्छ, कृपाबाट मुक्त हुनुपर्छ । हामी गुट चिन्दैनौं, कृपा मान्दैनौं,’ उनले भनिन्, ‘दुई महामन्त्रीले नेतृत्व गरिरहनुभएको छ । अब कांग्रेस बीपीको विचारबाट खडा भएको कांग्रेस बनोस् ।’
पार्टीको संस्थापन पक्षका ३० केन्द्रीय सदस्यको प्रतिनिधित्व गर्दै सम्बोधन गरेकी भुसालले सुधारिएको कांग्रेस बन्ने आशासहित आफूहरू उहाँ उपस्थित भएको बताइन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेपछि ३० जना केन्द्रीय सदस्यहरू नेताहरूका घरघरमा गएर सम्झाउन खोजेको तर निराश हुनुपरेको उनले स्मरण गरिन् ।
‘कांग्रेसको संस्थापन पक्षका ३० केन्द्रीय सदस्य यहाँ उपस्थित हुँदै विशेष महाधिवेशनलाई शुभकामना दिन चाहन्छौं । विधानतस् ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवशेन माग गरेपछि हामी नेताको घरघरमा गयौं । बुझाउन खोज्यौं । विशेष महाधिवेशन आह्वान होस् भन्यौ । तर हामी निराश भएर फर्किनुपर्यो,’ उनले थपिन्, ‘त्यसैले हामी यो उद्घाटन कार्यक्रममा त्यो ५४ प्रतिशत हस्ताक्षरलाई सम्बाधन गर्न यहाँ उपस्थित भएका हौं । हाम्रो विधानको धारा १७ ९२० लाई प्रतिबद्धता जनाउन, विधानभन्दा कोही नेता विधानभन्दा बाहिर जान सक्दैन भन्नका लागि यहाँ उपस्थित भएका छौं ।’
उनले विशेष महाधिवेशनमा सहभागी नभएका अन्य महाधिवेशन प्रतिनिधि र नेताहरूलाई भोलिबाट सुरु हुने बन्दसत्रमा उपस्थित हुन र नयाँ कांग्रेसको झण्डा फर्फराएँदै जिल्ला फर्कने वातावरण बनाउन आग्रह गरिन् ।














