Skip

Hamro Sanchar

अग्नि सापकोटा भन्छन् : आमनिर्वाचन एक्लै लड्छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २५ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)सँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आमजनताले नरुचाएको बताएका छन् ।

उनले राजनीतिक दलबीच सहकार्य हुनु स्वाभाविक भए पनि आमनागरिकले सकारात्मक रूपमा नलिएको बताएका हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा मतभारका आधारमा सिट बाँडफाँट हुनुपर्ने प्रस्ताव पार्टीले अघि सारे पनि कांग्रेस–एमाले त्यसनिम्ति तयार नभएको उनले उल्लेख गरे । उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि नेकपाले कुनै दलसँग सहकार्य नगर्ने बताए ।

न्युज एजेन्सी नेपालसित उनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने सुनाए । पार्टीलाई एक्लै चुनाव लड्न आमजनताबाट समेत सुझाव प्राप्त भएको उनको भनाइ छ ।

उनले हालै एकता गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी पनि गरे । राजनीतिक दलमा विचार र दृष्टिकोणको रिक्तता भएकै कारण मुलुक संकटको अवस्थामा आइपुगेको उनले जिकिर गरे ।

नेता सापकोटाले महाधिवेशनका विषयमा नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले नेकपा र राष्ट्रिय राजनीतिमा तात्विक असर नपार्ने बताए । एकताबद्ध हुनु पार्टीका निम्ति हितकर हुने भन्दै उनले विभाजिततर्फ नजान आग्रह पनि गरे ।

अग्नि सापकोटाको भनाइ पढ्नोस्–
राष्ट्रियसभा सदस्यमा कांग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टीपंक्ति र आमजनताले पनि त्यति मन पराइरहेका छैनन् । मिल्ने विषय बाहिर आउँदा पनि आलोचना र टिप्पणीहरू आई नै रहेका थिए । तर पनि राजनीतिक पार्टीहरूसँग हुने सहकार्यको विषय स्वाभाविक पनि हुन्छ । फेरि, यो राष्ट्रियसभाको निर्वाचन भनेको आमनिर्वाचनजस्तो होइन । प्रतिनिधिहरूले चुन्ने निर्वाचन भएको हुनाले यो अरू निर्वाचनजस्तो होइन । मतभारको आधारमा सिट बाँडफाँट हुन्छ भने गरौँ भनेर हामीले भनेको हो । तर, त्यहाँ समानता र निष्पक्षताको भाव देखिएन पनि । एक त हामी स्वतन्त्रतापूर्वक चुनाव लड्न चाहान्छौँ र प्रत्यक्ष निर्वाचन नभएको हुनाले समझदारी गर्ने भए गरौँ भनेको हो, तर उनीहरूमा मिल्ने छाँट देखिएन । हामी अगामी आमनिर्वाचन पनि एक्लै लड्छौँ, एक्लै लड्न जनताको पनि सुझाव छ ।

नेपाली कांग्रेसको आन्तरिक कुरा हो, अब त्यो कसरी जान्छ उनीहरूमै भर पर्ने कुरा पनि भयो । तर, पार्टी फुट्नुभन्दा एकताबद्ध हुनु नै राम्रो हो । चाहे जुनसुकै पार्टी भए पनि फुट र विभाजन हुनुभन्दा एकताबद्ध हुनु नै राम्रो हो । मलाई जहाँसम्म लाग्छ, कांग्रेस नेताहरूले कुनै न कुनै उपाय खोजेर एकताबद्ध हुन्छन् होला । अब कांग्रेसको आन्तरिक मामिलाले हामीलाई त्यस्तो तात्विक अन्तर पर्दैन ।


प्रतिकृया दिनुहोस्