
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताएका छन् ।
बिहीबार (पुस २४)पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले भदौ अन्तिम साता भएको जेनजी विद्रोहपछि मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै उक्त परिवर्तन हुनुमा पार्टीको भूमिका कस्तो रह्यो भन्नेबारे विश्लेषण गर्न नीति र नेतृत्व बदल्नु जरुरी रहेको बताए ।
भदौ २२ गतेको नेपाल र भदौ २५ गतेको नेपाल एउटै होइन । त्यसकारण महाधिवेशन माग गर्नेहरूले भदौ २३ र ३४ पछाडि ठूलो परिवर्तन भयो । यो परिवर्तन किन भयो ? कसरी भयो र? यसमा हाम्रो भूमिका के रह्यो ? कहाँ सही, कहाँ गलत भयो रु यो सबैको विश्लेषण गरौँ,थापाले भने ।
पार्टी विधानको पालनाको गर्दा पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हौवा किन पिटिराखेको ? भन्दै थापाले पार्टीको संस्थापन पक्षलाई प्रश्न गरे । उनले महाधिवेशनको लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने बताए ।
नीति पनि फेरौँ । नेता पनि फेरौँ । त्यसका निम्ति अधिवेशन गरौँ । नियमित महाधिवेशन मंसिरमा हुन नसकेपछि विशेष महाधिवेशन मागेको हो नि त, थापाले भने ।
उनले पार्टीमा युवा महामन्त्री आएपछि आफूहरूलाई कहिल्यै पनि स्वीकार नगरिएको भन्दै आक्रोश पनि व्यक्त गरे । पार्टीका कार्यवाहक सभापति पुर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको निमन्त्रण सन्देश पठाएको पनि उनले बताए ।

















