
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।
दुई समुदायबीचको विवादका कारण प्रदर्शनहरू भइरहेकाले जारी भएको निषेधाज्ञामा आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने उल्लेख छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गर्नुभएको सूचनामा वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने उल्लेख छ ।
वीरगञ्जमा हिजो मुस्लिम समुदायले प्रदर्शन गरेको थियो भने आज हिन्दुवादी सङ्गठनहरूले प्रदर्शन गरेका छन् ।
यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश सबै समुदायको साझा घर भएको बताउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक सन्देश जारी गर्दै विविधता नै मधेशको सामर्थ्य र शक्ति भएको बताउनुभएको हो ।
उहाँले धर्मका नाममा फैलाइँदै आएको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य रहेको बताउनुभयो । प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।


















