Skip

Hamro Sanchar

प्रचण्ड आज दिल्ली जाँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २० गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् ।

जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो ।

तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादी लगायत दल निकट प्रवासी संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेको उनको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

‘‘एक महिना अघि नै तय भएको सन्देश सभा कार्यक्रम हो, त्यही कार्यक्रमलाई सम्बोधन गर्न दिल्ली जान लाग्नुभएको हो,’ आचार्यले भने ।

सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड सोमबार नै स्वदेश फर्किने आचार्यले जानकारी दिए । ‘आज साँझ गएर भोलि साँझ फर्किने कार्यक्रम छ,’ आचार्यले भने ।

फागुन २१ गते हुन लागेको चुनाव अगाडि प्रचण्डको दिल्ली यात्रालाई कतिपयले चासोका साथ हेरेका छन् । दिल्ली बसाइका क्रममा उनका थप कार्यक्रम भने सार्वजनिक भने भएका छैनन् ।

प्रचण्डको सचिवालयले पनि दिल्लीमा सन्देश सभालाई सम्बोधन गर्ने बाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम नरहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्