Skip

Hamro Sanchar

सर्वपक्षीय सरकार बन्ने सम्भावना छैन : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १९ गते


संखुवासभा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनमा केन्द्रित भएको बताएका छन् ।

शनिबार (पुस १९) प्रेस सेन्टरले खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले नै निर्वाचन गराउने बताए ।

राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको उनले उल्लेख गरे । ‘जेनजी’ युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शंका गरिरहनुपर्ने अवस्था नभएको उनले बताए ।

प्रचण्डले अब देशमा सर्वपक्षीय वा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको टिप्पणी गरे । सरकार पुनर्गठन नहुने उनको भनाइ थियो ।

काठमाडौं फर्कनुअघि पत्रकारसँग उनले वर्तमान सरकार फागुन २१ गते नै प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन सक्षम रहेको बताए ।

“संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले वाचा गरेका थियौँ– १० वर्षपछि संविधानको समीक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकका आधारमा संविधान संशोधन र परिमार्जन गर्नेछौँ,” उनले भने ।

जेनजी आन्दोलनको मर्म र भावनाअनुसार राजनीतिक दल नयाँ जनादेशमा जानुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

निर्वाचनको प्रक्रिया सुरु भइसकेको, संसद् पुनर्स्थापना नहुने र वर्तमान सरकारले निर्वाचन सम्पन्न गराउनुपर्ने उनले धारणा व्यक्त गरे । नयाँ जनादेश प्राप्त गरिसकेपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए ।

नेपाली कम्युनिस्ट पार्टी संखुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल खाँदबारी आएका थिए ।


प्रतिकृया दिनुहोस्