Skip

Hamro Sanchar

अग्रगामी शक्तिबीच राष्ट्रिय एकता आजको आवश्यकता : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १७ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको आवश्यकता बनेको बताएका छन् ।

सन् २०२६ सुरु भएको अवसरमा शुभकामन व्यक्त गर्दै प्रचण्डले भनेका छन्, “यो तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको महत्त्वपूर्ण आवश्यकता बनेको छ ।”

उनले देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्ने संकल्प गर्न अपिल गरेका छन् । उनले भनेका छन्, “हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा अपांग योद्धाहरूको बलिदान र योगदानबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्ने संकल्प गर्न म सबैमा अपिल गर्दछु ।”

उनले शुभकामना सन्देशमार्फत भनेका छन्, “हामीबाट बिदा भएको वर्ष सन् २०२५ मा जेनजी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ अध्यायको संकेत गरेको छ । यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको छ ।”

उनले अगाडि भनेका छन्, “संविधान निर्माणका बेला तत्कालीन शक्ति–सन्तुलनका कारण फरक मतका रूपमा अघि सारिएका हाम्रा एजेन्डाहरूको औचित्य पनि यसले पुष्टि गरेको छ ।”

वर्तमान संकटको सकारात्मक निकासका निम्ति राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु साझा दायित्व रहेको उनले बताएका छन् ।

 


प्रतिकृया दिनुहोस्