
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो चरण सुरु हुन लागेको बताएका छन् ।
महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण रहेको र अब दोस्रो चरण सुरु हुन लागेको बताएका हुन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले भनेका छन्– ‘भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो। अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ। यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ।’
उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने समेत बताएका छन् ।
महासचिव पोखरेलले भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरिएको त्यसको आडमा भदौ २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरिएको समेत आरोप लगाएका छन् ।
अहिले यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै गएको पनि उनले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भए लगत्तै महासचिव पोखरेलको यस्तो प्रतिक्रिया आएको हो ।


















