Skip

Hamro Sanchar

देउवा, ओली र प्रचण्डलाई प्रधानमन्त्रीकाे आग्रह : अब कुनै अलमल नगरी चुनाव सफल पारौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १२ गते


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो दिएकी छिन् ।

शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै उनले चुनावी निम्तो दिएकी हुन् ।

साथै, उनले आफ्नो निमन्त्रणा स्वीकारेर बालुवाटार आएकोमा तीनै नेताहरूलाई धन्यवाद दिइन् ।

‘यो घर तपाईँहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,’ छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भनिन् ।

साथै, उनले प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक आफूसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाएको जानकारी पनि गराइन् ।

‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौं,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘सबै यसमा सहभागी हुनुपर्छ । तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु । त्यस्तो वातावरण बनिरहेको देख्छु । यो स्वागतयोग्य छ ।’

निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएको उनले छलफलका क्रममा भनिन् ।

‘सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरुले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौं,’ प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ ।

‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौं,’ नेताहरूसँग प्रधानमन्त्रीको आग्रह थियो, ‘यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ ।


प्रतिकृया दिनुहोस्