Skip

Hamro Sanchar

कसैको अस्तित्व सकाएर एकता सम्भव हुँदैन : कुलमान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १२ गते


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नेतृत्व र दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन् ।

शनिबार (पुस १२) उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा बौद्धमा आयोजित एक कार्यक्रममा उनले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए । उनले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई देशको भविष्य बदल्ने महत्त्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे ।

मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने बताए । सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । “अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन,” उनले भने, “देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ ।”

उज्यालो नेपाल पार्टीले देशभर आफ्ना संगठनात्मक संरचना विस्तार गर्दै लगेको उनले उल्लेख गरे । सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको उनले बताए ।

उनले भने, “एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदै छ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दै छ ।”

कार्यक्रममा उनले राजनीतिक एकताका विषयमा आफ्नो धारणा स्पष्ट पारे । कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने उनले बताए । नयाँ शक्तिले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने उनले आवश्यकता औँल्याए ।

“एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन,” उनले भने, “सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।”

जनताको भावना र चाहना नयाँ शक्ति एकजुट भएको हेर्न चाहेको उनले बताए । जनताको इच्छा नयाँ राजनीतिक शक्ति एक होऊन् भन्ने भएकाले अहंकार त्यागेर साझा उद्देश्यका निम्ति एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

उनले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताए । घरमा बत्ती बाल्नेबित्तिकै ‘उज्यालो’को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँगाउँसम्म पुर्‍याउन उनले कार्यकर्तालाई निर्देशन दिए ।

“घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ,” उनले भने ।

मन्त्री घिसिङले जनतामाझ उज्यालो पार्टीप्रति विश्वास बढ्दै गएको उल्लेख गरे । “हामीसँग आमजनताको विश्वास छ,” उनले भने, “यो विश्वासलाई अझ बलियो बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्छ ।”

कार्यक्रममा उज्यालो नेपाल पार्टीका विभिन्न नेता–कार्यकर्ता तथा समर्थकको उल्लेख्य उपस्थिति थियो ।


प्रतिकृया दिनुहोस्