
बाँके । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा धैर्य र समर्पण नभए दुर्घटना निम्तिने बताएका छन् ।
नेपालगञ्जमा आजदेखि सुरु भएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको १२औँ महाधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलले राजनीतिमा ‘तातै खाऔँ, जल्दै मरौँ’ जस्तो हतार गरे सफलता हासिल नहुने उल्लेख गरे।
‘राजनीतिमा धैर्य र समर्पण चाहिन्छ, हतार गरे दुर्घटना हुन्छ’, उनले भने, ‘युवापुस्ताले भावनामा बहकिएर होइन, परिस्थितिलाई तथ्य र सत्यका आधारमा विश्लेषण गरेरमात्र समाज परिवर्तनको यात्रामा लाग्नुपर्छ ।’
विषयगत ज्ञानसहितको नयाँपुस्ताले राष्ट्रलाई सही दिशा प्रदान गर्न सक्ने भएकाले सचेत युवाहरू राजनीतिमा अगाडि आउनुपर्नेमा उनले जोड दिए ।
नेकपा (एमाले) युवाका नाममा राजनीति गर्ने पार्टी नभई युवालाई राजनीतिमा जोड्ने पार्टी भएको दाबी गर्दै महासचिव पोखरेलले ११औँ महाधिवेशनबाट एकतिहाइ नयाँ युवा सदस्य निर्वाचित भएको उल्लेख गरे ।
तीन पुस्ता संयोजनको मान्यतालाई एमालेले व्यवहारमा लागू गरेको उल्लेख गर्दै महासचिव पोखरेलले भने, ‘राष्ट्र निर्माण गर्ने कुरामा निरास हुनुपर्दैन, युवाको भविष्यलाई एमालेले सुरक्षित गरेको छ ।


















