
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–वडा नं. ४ अन्तर्गत थली सिंखडा गाउँमा बुधबार साँझ भएको भीषण आगलागीको घटना दमकल सेवा, नगर प्रहरी तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा समयमै नियन्त्रणमा ल्याइएको छ।
विश्वर सिंखडाको घरसँगै जोडिएको गाईगोठमा अचानक आगलागी हुँदा स्थानीयवासीमा त्रास फैलिएको थियो। आगलागीको सूचना प्राप्त हुनासाथ नगरपालिकाको दमकल सेवा, नगर प्रहरी, जनप्रतिनिधि तथा स्थानीय नागरिकहरू तत्काल उद्धार र आगो नियन्त्रणमा खटिएका थिए।
आगलागीका कारण धुवाँको अत्यधिक प्रभावले घरधनीसहित नजिकैका एक छिमेकी व्यक्ति बेहोस भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको र हाल दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ।
घटनाबारे प्रतिक्रिया दिँदै कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले आपतकालीन सेवाको सक्रियताका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिन सफल भएको बताएका छन्।
नगर प्रमुख कार्कीले भने, “यस्तो कठिन र संवेदनशील घडीमा नगरपालिकाको दमकल सेवा, नगर प्रहरी, जनप्रतिनिधि तथा सचेत नागरिकहरूको तत्परताले सम्भावित ठूलो मानवीय क्षतिलाई समयमै रोक्न सकियो। ज्यानको जोखिमलाई बेवास्ता गर्दै उद्धार तथा आगो नियन्त्रणमा खटिनु हुने सबैप्रति नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
नगर प्रमुख कार्कीले यस घटनाले आपतकालीन पूर्वतयारी, तालिमप्राप्त जनशक्ति र आवश्यक स्रोत–साधनको महत्वलाई पुनः पुष्टि गरेको उल्लेख गर्दै भविष्यमा यस्ता सेवाहरूलाई अझ सुदृढ बनाइने प्रतिबद्धता पनि व्यक्त गरे।
स्थानीय बासिन्दाहरूको सहयोग, एकता र सेवाभावकै कारण आगलागी नियन्त्रणमा आएको बताउँदै नगरपालिकाले संलग्न सबै निकायप्रति आभार प्रकट गरेको छ।

















