
काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू र जेनजी युवापुस्ताका मागहरू सम्बोधन नभए अगामी २१ फागुनमा निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले नागरिक बचाउ अभियानले अघि सार्दै आएका मागहरू पूरा गर्न सरकारलाई यही पुस १० गतेसम्मको अल्टिमेटम समेत दिए । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूलाई वार्ताको नाममा जिस्क्याउने काम नगर्न समेत आग्रह गरे । उनले आफूहरूको अभियानलाई ६० भन्दा बढी राजनीतिक दल र जेनजी पुस्ताको समेत समर्थन रहेको बताए ।
म सम्माननीय प्रधानमन्त्री र गृहमन्त्रीज्यूलाई के भन्छु भने तपाईंहरू हामीलाई नजिस्कयाउनुस् । हामीलाई अहिले ६० वटा दलले साथ दिइसकेको छ । चुनाव नगराउने हाम्रो पक्षमा जेनजी भाईहरूको पनि साथ छ । हाम्रा र जेनजीका मागहरू पूरा हुन्छन् भने यो देशमा फेरि चुनाव हुन्छ । नभए चुनाव किन चाहियो रु फेरि तिनै मान्छेलाई ल्याउनलाई ? त्यसकारण फागुन २१ गते चुनाव हुँदैन । त्यसको लागि तयारी गर्नु बेकार हो । हामीले सरकारलाई १० गतेसम्मको समय दिएका छौँ । यदि यो बीचमा हामीलाई बोलाएर माग पूरा गर्न तत्पर भएन भने निर्वाचन हुन दिँदैनौँ, उनले भने ।
उनले कार्की नेतृत्वको वर्तमान सरकार पश्चिमाहरूको डिजाइनमा बनेको आरोप समेत लगाए ।

















