
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्।
शुक्रबार सात दलीय गठबन्धनको तर्फबाट यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।
नयाँ सरकार गठनको गृहकार्यमा लागेका सातदलसँग मधेस प्रदेश सभामा दुई तिहाई भन्दा धेरै मत छ।
प्रदेश प्रमुख कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए।
ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते मधेसको मुख्यमन्त्री नियुक्त भएका सरोज यादवले प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको बुधबार पदबाट राजीनामा दिएका थिए।
उनको राजीनामापछि एमालेबाहेकका सात दल मधेसमा नयाँ सरकार गठनको लागि अघि सरेका हुन्।
नेपाली कांग्रेस मधेस प्रदेश सभामा एमालेपछि दोस्रो ठूलो दल हो। प्रदेस सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद छन्।

















