
काठमाडौं, असोज ४- प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान) को आयोजनामा प्रधानाध्यापकहरुको दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ ।
डिल्लीबजार स्थित पद्मकन्या विद्याश्रम मामाध्यामिक विद्यालयमा प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान) ले बडा दशैं, तिहार तथा छठ पर्व २०८२ को उपलक्षमा चियापान कार्यक्रम सम्पन्न गरेको हो । यस अवसरमा काठमाडौं जिल्लासहित उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ५ बर्षका लागि करारमा नियुक्त भएका नवनियुक्त प्रधानाध्यापकहरुलाई बधाइ तथा शुभकामना कार्यक्रमसमेत सम्पन्न गरेको छ ।
कार्यक्रममा काठमाडौं जिल्लाबाट २५ जना, ललितपुर जिल्लाबाट १६ जना र भक्तपुर जिल्लाबाट १ गरी ४२ जना प्रधानाध्यापकहरुलाई बधाइ तथा कार्यकालको शुभकामना दिइएको थियो । पत्रकार, शिक्षक, सहायक प्रधानाध्यापक, प्रधानाध्यापक तथा शिक्षाप्रमी समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रम पानका अध्यक्ष सुदाम प्रसाद गौतमको अध्यक्षता र महासचिव लक्ष्मण श्रेष्ठको सञ्चालनमा भएको थियो ।
सो कार्यक्रममा शिक्षा पत्रकार प्रकृति अधिकारी, काठमाडौं महानगरपालिका शिक्षा विभागका पूर्व शिक्षा अधिकारी रामप्रसाद सुवेदी, पानका काठमाडौं अध्यक्ष प्रकाश सुवेदी, ललितपुरका अध्यक्ष प्रेमपति जोशी, भक्तपुरका जिल्ला अध्यक्ष महेन्द्र श्रेष्ठ, पानका वरिष्ठ केन्द्रिय उपाध्यक्ष हेरम्बराज कँडेलले दशैं तिहार, छठ तथा नेपाल सम्वत् ११४६ को अवसरमा शुभकामना र नवनियुक्त प्रधानाध्यापकहरुको शैक्षिक जीवनको सफलताको लागि शुभकामना दिनुभएको थियो ।
यस्तै प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान) का अध्यक्ष सुदाम प्रसाद गौतमले बडा दशैं, तिहार तथा छठ पर्व २०८२ को उपलक्ष र नवनियुक्त प्रधानाध्यापकहरुलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।



















































