Skip

Hamro Sanchar

रवि लामिछानेलाई नख्खु कारागार सरूवा गरिँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ३० गते


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरिएको छ ।

नख्कु कारागार सरुवाका लागि लामिछानेले दिएको निवेदनको आधारमा उनलाई सरुवा गर्ने निर्णय गरिएको कारागार विभागका सूचना अधिकारी सन्देश प्रसाद जोशीले जानकारी दिए ।

उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् ।

‘उहाँकै मागअनुसार नक्खु कारागार पठाउने निर्णय भएको हो, हामीले त्यहाँको कारागारमा पत्राचार गरिसकेका छौँ आजै, अब हवाई यात्राबाट ल्याउने कि कसरी ल्याउने जिल्लाले निर्णय गर्नेछ, सुरक्षाको पनि कुरा छ, कहिले कसरी ल्याउने भन्ने अब जिल्लाले नै निर्णय गरेर पठाउँछ’ उनले भने ।

विभागको पत्र जिल्ला कारागार पुगिसकेको भन्दै अब त्यहाँबाट सरुवा गरिने सूचना अधिकारी जोशीले जानकारी दिए ।

‘‘उहाँको मन्जुरीनामा नै नक्खु कारागार भनेर माग्नुभएको थियो, सोही अनुसार निर्णय गरेर पठाएका हौँ, अबको प्रक्रिया जिल्लाले अघि बढाउने छ’ जोशीले भने ।

चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका लामिछानेको सरुवा अब यहाँको प्रशासन र सिडिओ कार्यालयले प्रक्रिया अघि बढाउनेछन् ।

यसअघि गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा लामिछानेको कारागार सरुवाको काम भइरहेको जवाफ रास्वपाका सांसदहरूलाई दिएका थिए ।


प्रतिकृया दिनुहोस्