Skip

Hamro Sanchar

नेपाल पब्लिक क्याम्पस संघद्वारा रसुवा बाढीपीडितका लागि ५१ हजार रुपैयाँ राहत घोषणा

देशभरका सामुदायिक क्याम्पसहरुलाई राहत घोषणा गर्न अपिल

सुदिप बर्देवा प्रकाशित : २०८३ भदौ, १० गते


Advertisement

काठमाडौं, भदौ १०- नेपाल पब्लिक क्याम्पस संघले रसुवामा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार सहयोगका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

संघको केन्द्रिय कार्यसमितिको आकस्मिक वैठकले प्राकृतिक विपत्तिका कारण पीडित बनेका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै मानवीय सहयोगका लागि उक्त रकम प्रधानमन्त्री राहत कोष मार्फत उपलब्ध गराउने निर्णय गरेको हो। बाढीबाट प्रभावित परिवारहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले राहत रकम घोषणा गरिएको संघका अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताले हाम्रोसंचारलाई जानकारी दिनु भयो ।

संघको आकस्मिक वैठकले प्राकृतिक विपत्तिको यो कठिन घडीमा देशभरका सामुदायिक क्याम्पसहरुलाई राहत घोषणा गर्न अपिल गरेको छ । साथै सबै सरोकारवाला निकाय, संघसंस्था तथा नागरिकले आ–आफ्नो ठाउँबाट सहयोग गर्न संघले अपिल गरेको छ। बाढीपीडितको पीडामा साथ दिनु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै संघले आफ्ना प्राध्यापक र विद्यार्थीहरुलाई बाढी प्रभावित क्षेत्रका उद्दारका लागि खटिन समेत आग्रह गरिएको छ ।

संघले राहत रकम सम्बन्धित निकायमार्फत बाढीपीडितसम्म पुर्‍याउने तयारी गरेको जनाएको छ। साथै, विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारलाई प्रभावकारी कदम चाल्न पनि आग्रह गरेको छ।

नेपाल पब्लिक क्याम्पस संघले यस दुःखद घडीमा रसुवाका बाढीपीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगका लागि अन्य संघसंस्था र सरोकारवालालाई समेत हातेमालो गर्न आह्वान गरेको छ।


प्रतिकृया दिनुहोस्