१४ भदौ, काठमाडौं । भोटेकोसी बाढीका कारण क्षतिग्रस्त बनेको ६० मेगावाटको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख पत्ता लागेको छ ।
सुरुङभित्र फसेका कर्मचारीको उद्धारका लागि परिचालित टोलीले भर्टिकल होलबाट करिब ८ मिटर तल सुरुङको मुख भेट्टाएको हो ।
प्रतिनिधिसभा सदस्य तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेका अनुसार भर्टिकल होलभन्दा करिब ८ मिटर तल सुरुङको मुख भेटिएको हो । उनले सामाजिक सञ्जालमार्फत सुरुङको मुख पत्ता लागेको जानकारी दिएका हुन् ।
न्यौपानेका अनुसार आयोजनाको करिब ४० मिटर अपस्ट्रिमतर्फ भर्टिकल होलभन्दा ८ मिटर तल सुरुङको मुख भेटिएको हो । उनी स्वयं उद्धार कार्यको नेतृत्व गर्दै प्राविधिक टोलीसँगै घटनास्थलमा खटिएका छन् ।
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र ४२ जना सम्पर्कविहीन रहेको बताइएको छ । उनीहरूको खोज तथा उद्धारका लागि नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना तथा नेपाली र विदेशी प्राविधिक एवं सुरुङ विज्ञहरूको टोली परिचालन गरिएको छ ।
सुरुङको मुख पत्ता लागेसँगै भित्र सम्पर्कविहीन रहेका कर्मचारीसम्म पुग्न उद्धार टोलीलाई थप सहज हुने अपेक्षा गरिएको छ । अहिले सुरुङको अवस्था र भित्रसम्म पुग्ने सुरक्षित मार्ग पहिचान गरी उद्धार अघि बढाउने काम भइरहेको छ ।
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनामा ठूलो क्षति पुगेको थियो । बाढीपछि सुरुङ क्षेत्रमा कर्मचारीहरू सम्पर्कविहीन भएपछि नेपाली तथा विदेशी प्राविधिक टोलीलाई उद्धारमा परिचालन गरिएको हो ।































