Skip

Hamro Sanchar

प्रधानमन्त्री भन्छन् : व्यक्तिको आचरण शुद्ध भए भ्रष्टाचार आफैँ अन्त्य हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ३० गते


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शून्यमा पुर्याउन आचरण शुद्ध हुनुपर्ने बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार शून्यमा पुर्‍याउन सकिने तर त्यो कानुन कार्यान्वयनबाट मात्रै सम्भव हुने कुरा नरहेको स्पष्ट पारे । त्यसका लागि मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न जरुरी रहेको बताए ।

मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न शिक्षामा सुधार गर्न जरुरी रहेको बताए । गुणवत्ता बढाउने शिक्षा दिन जरुरी रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले सामाजिक प्लेटफर्महरूमा राम्रो बाटो समाउन सके र अहिलेको प्रविधिको सी सदुपयोग गर्न सके राम्रो हुने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार शून्यमा पुर्‍याउन सक्छौँ । तर यो कानुन कार्यान्वयनबाट हुने कुराबाट शून्यमा पुर्‍याउन सकिँदैन । त्यसबाट मानिसको आचरण, चरित्र, गुणवत्ता विकास गरेर जानुपर्छ । मानिसले आफूलाई म गलत गर्दिन भन्ने प्रतिबद्धता लियो भने सबै समस्या समाधान हुन्छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘कानुनले पत्ता लगाएर, कानुन कार्यान्वयन गर्दा कानुनले कारबाही गरेर मात्रै त पत्ता लगाउन गाह्रो हुन्छ । लुकेर खाने गर्दछ । कानुनबाटै समाधान गर्छु भन्ने कुरा होइन । यसलाई कानुन कार्यान्वयनबाट पनि नियन्त्रण गर्नुपर्छ । कानुनी कारबाही नगर्ने भन्ने होइन । तर यसमा मुख्य कुरा मोडल एजुकेसन हो । मान्छेको गुणवत्ता वृद्धि गर्ने कुरा, मान्छेभित्र राम्रो र नराम्रो पक्ष हुन्छ, नराम्रो पक्ष कमजोर बनाइदिने र राम्रो पक्ष उजागर गरिदिने खालको शिक्षा आवश्यक छ । समाजले प्रोत्साहित गर्ने कुरा पनि हो । सामाजिक प्लेटफर्महरूमा राम्रो बाटो समाउन सके भने अत्यन्तै उपयोगी हुन्छ । अहिलेको प्रविधिको सदुपयोग गर्नुपर्छ, देश, जनता, मानव विकासका लागि सदुपयोग गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले मानव मस्तिष्क भन्दा ठुलो कुरा सृष्टिले अहिलेसम्म पनि कुनै कुरा उत्पादन गर्न नसकेको भन्दै एआईसँग नडराउन आग्रह गरे ।


प्रतिकृया दिनुहोस्