Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १५ गते


Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उक्त आकारको बजेट पेस गरेका हुन्।

यसअनुसार मन्त्री पौडेलले चालू खर्चको लागि ११ अर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत विनियोजन गरेका छन्।

यो अनुमान चालू आवमा विनियोजितभन्दा ५.६ प्रतिशतले धेरै र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी रहेको अर्थमन्त्री पौडेलले बताए।

‘कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरेको छु’, उनले संसदमा भने।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोर्दा ५ खर्ब ९५ अर्ब ६६ करोड न्यून हुने उनले बताए। त्यसको पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड जुटाइने उनको दाबी छ।

राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा अपुग हुने खुद ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने सरकारको अनुमान रहेको उनले उल्लेख गरे।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट ल्याएका थिए।

हालसम्मकै ठूलो आकारको बजेटमा चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत विनियोजन गरिएको थियो। पुनले वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत बजेट छुट्याएका थिए। कुल आकारमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब २७ करोड विनियोजन गरिएको थियो।

उक्त बजेट खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुने र त्यसको परिपूर्ति वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइने भनिएको थियो। राजस्व परिचालन र वैदेशिक सहायता परिचालनबाट नपुग्ने कुल ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री पुनले उल्लेख गरेका थिए।

तर पुनले बजेट ल्याए पनि कार्यान्वयन गर्ने बेला सरकार परिवर्तन भयो र अर्थमन्त्रीको रुपमा विष्णु पौडेल छन्। उनले माघ २४ मा बजेटको अर्धवार्षिक समीक्षा गर्दै चालू आवको बजेटको कुल आकार ९ प्रतिशतले घटाएका थिए। कुलमध्ये चालू आवमा १६ खर्ब ९२ अर्ब रुपैयाँ मात्र खर्च हुने अनुमान उनले गरेका थिए। जसमा चालूतर्फ १० खर्ब २९ अर्ब अर्थात् ९०।२४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब २९ अर्ब अर्थात् ८५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब अर्थात् विनियोजनको ९९ प्रतिशत खर्च हुने अनुमान थियो।

तर बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षमा ल्याएको कुलमध्ये ८९.४ प्रतिशत मात्रै बजेट खर्च हुने अर्को संशोधित अनुमान गरेको बताएका छन्।

अर्थमन्त्री पौडेलका अनुसार कुल विनियोजनको ८९।०४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड पुग्ने संशोधित अनुमान छ। चालू खर्चतर्फ विनियोजनको ८८.०५ प्रतिशत, पुँजीगत खर्च ८३.०४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ९७.०६ प्रतिशत पुग्ने संशोधित अनुमान रहेको अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन्।

आव २०८१र८२ मा राजस्व परिचालन १७।०१ प्रतिशतले वृद्धि भई १२ खर्ब ६७ अर्ब ३९ करोड हुने अनुमान छ। वैदेशिक सहायता अनुदान ३४ अर्ब ८९ करोड र ऋण १ खर्ब ६९ अर्ब ६० करोड परिचालित हुने संशोधित अनुमान छ।

चालू आवका लागि आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब व्यहोर्ने अनुमान रहे पनि वैशाख मसान्तमा ३ खर्ब ६० अर्ब परिचालन गरिएको छ।


प्रतिकृया दिनुहोस्