Skip

Hamro Sanchar

नारायणगढ-मुग्लिन सडकको भासिएको भाग बजेट अभावले अलपत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १४ गते


चितवन । नारायणगढ-मुग्लिन सडकको २६ किलोमा भासिएको भाग बजेट अभावका कारण चालु आर्थिक वर्षमा नबन्ने भएको छ। यो क्षेत्रमा १६५ मिटर भाग भासिएको छ।

गत असोजको वर्षापछि सो ठाउँमा सडक भासिएको थियो । सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ। बाँकी भाग चिरा परेको छ। अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताए।

चालु आर्थिक वर्षमा बजेट सुनिश्चित हुन नसक्दा काम हुन नसकेको हो। वर्षाले कालोपत्र तलको माटोको भागलाई बगाएर खोक्रो बनाएपछि सडक भासिएको हो।

१८ देखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने उनले बताए। सोहीअनुसारको डिजाइन तयार गरेर सडक विभागमा पेश गरिएको छ । गत माघमा डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताका पेश गरिएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय समाप्त भएकाले यस वर्ष काम हुन नसकेको उनले बताए।

भासिएको भाग मर्मत गर्न ३२ करोड लाग्ने अनुमान गरिएको छ। हाल सडकमा थप क्षति हुन नदिन ग्यावियन जाली लगाएर अस्थायी रोकथामका काम गरिएको छ । यो सडक हुँदै राजधानी काठमाडौँ र पोखरातर्फ दैनिक १० हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुन्छन् ।


प्रतिकृया दिनुहोस्