Hamro Sanchar

तीनकुनेमा तनाव : राजावादीको प्रदर्शन उग्र, हवाई फायर , प्रहरीको टाउको फुट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।

राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो । त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ ।

काठमाडौं तिनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।

त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारेको थियो । लगत्तै एक घरमा तोडफोड र आगजनी भएपछि थप तनाव बढेको छ । राजावादीहरुले तीनकुनेमा गर्न लागेको सभा सुरु हुन नपाई बिथोलिएको छ । त्यहाँ नेताहरु देखिएका छैनन् ।


प्रतिकृया दिनुहोस्