Hamro Sanchar

पूर्वराजालाई माओवादीको सन्देश : चुरीफुरी आवश्यक छैन, पार्टी खोले हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १३ गते


काठमाडौं । नेकपा माओवाद केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन भनेको छ ।

मंगलबार प्रतिनिधि सभामा पार्टीको तर्फबट बोल्दै माओवाद सांसद रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पार्टी खोलेर चुनावमा भाग लिएर शासन सत्तामा पुग्ने अधिकार सबैलाई दिएको बताइन् ।

‘पूर्वराजलाई भन्न चाहन्छु- राजनीतिमा आउने हो भने पार्टी खोल्ने, पार्टी दर्ता गर्ने हो । राजनीतिमा आएर प्रधानमन्त्री बन्ने हो,’ उनले भनिन् । संविधान निरंकुश नरहेको ख्याल गर्न पूर्वराजालाई उनको सन्देश छ ।

‘अहिलेको संविधान निरंकुश छैन, सबैलाई पार्टी खोल्ने अधिकार दिएको छ । त्यतातिर जान उपयुक्त हुन्छ । अन्यथा धेरै चुरीफुरी गर्न आवश्यक छैन,’ उनले भनिन् ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा यही फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिनेक्रममा आफूहरूले शासन सत्ता छोड्नुलाई त्यागको रूपमा व्याख्या गरेका थिए । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न राजनीतिक दलहरुलाई चेतावनी नै दिए ।

पूर्वराजालाई शुभकामना- प्रधानमन्त्री बन्नुस्
पूर्वराजाको यो अभिव्यक्तिउपर संसद्मा सांसदहरूले प्रश्न गर्दै आएका छन् ।

माओवादी सांसद शर्माले राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गर्नका लागि जनताले गरेको संघर्ष ख्याल गरेर आफ्ना अभिव्यक्ति राख्न समेत आग्रह गरेकी छन् ।

१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२र०६३ सालको जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो।

२८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक ९१५ जेठ २०६५० ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । जनताका जनप्रतिनिधिहरूले संविधान सभाबाट गरेको निर्णयलाई पूर्वराजा ज्ञानेन्द्रले त्याग गरेको रुपमा व्याख्या गरेपछि संसद्मै त्यसको विरोध गर्दै आएका हुन् ।


प्रतिकृया दिनुहोस्