Hamro Sanchar

लक्ष्मीनारायण बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २३ गते


Advertisement

काठमाडौं, मंसिर २३- लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ बाबाचोकस्थित गणेश हिमाल माध्यमिक विद्यालयको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभालाई संस्थाका उपाध्यक्ष राजु प्रसाद अधिकारीले स्वागत मन्तब्य तथा सचिव पुष्करराज नेपालले सञ्चालन गरेका थिए । शंकर थापाको अध्यक्षताको​ उद्घाटन सत्रमा प्रमुख अतिथि नेफस्कुनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, बिशेष अतिथि वडाअध्यक्ष प्रकाश फुयाल, कागेश्वरी मनोहरा नगरपालिका सहकारी शाखा प्रमुख बिश्वास ज्ञवाली, काठमाडौं जिल्ला सहकारी संघ महासचिव बालकुमार बास्तोलाले बोलेका थिए ।

शुभकामना दिने बक्ताहरुले सहकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताए । पछिल्लो समयमा सहकारी संघ-संस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्‍याएको र सहकारीहरुले अब उद्यमशीलताका क्षेत्रमा लगानी गर्नुपर्ने औंल्याए ।

सहकारीका अध्यक्ष एवम् सभाका अध्यक्ष शंकर थापाले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । त्यसैगरी संस्थाले जिल्ला सहकारी संघ काठमाडौं, काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कुन) र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन), बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (प्रोस्कुन)को सदस्य लिनुका साथै राष्ट्रिय सहकारी बैंक लिमिटेड तथा अन्य बिभिन्न बाणिज्य बैंकमा खाता खोलि बचत गर्दै आएको र संस्थाले हिमाल रेमिट, प्रभु रेमिट, सिटि एक्सप्रेस, आइएमइ रेमिट र हुलास रेमिट मार्फत विभिन्न देशबाट पठाएको रकम भुक्तानी दिँदै आएको जानकारी दिए ।

यस्तै संस्थाले ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम’ संचालन गरेको छ । संस्थाले आर्थिक बर्ष २०८१/८२ को साउनदेखि नै संस्थामा आवद्ध महिला सदस्यहरु केन्द्रित ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम राखेको हो ।

साउनदेखि ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम संचालन भएको अध्यक्ष थापाले जानकारी दिए । उक्त कार्यक्रम अन्तर्गत संस्थामा सदस्य भएका सुत्केरी महिलालाई बिशेष उपहार प्रदान गरिने छ भने जन्मेका शिशुलाई संस्थाले त्यहि दिनबाट नि:शुल्क सदस्य बनाउने छ । संस्थामा आवद्ध महिला आफ्नो नजिकको वा छिमेकमा सुत्केरी भए संस्थालाई जानकारी गराउन सदस्यहरुलाई अध्यक्ष थापाले अनुरोध गरे ।

कार्यक्रममा अध्यक्ष थापाले बार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८०/८१ मा शेयर पुँजी ३.२५ प्रतिशतले वृद्धि भै ३ करोड ४४ लाख ८७ हजार ९ सय रुपियाँ पुगेको छ । कुल आम्दानी ३ करोड ८९ लाख ९५ हजार २ सय १७ रुपियाँ मध्ये कुल खर्च २ करोड २१ लाख ९२ हजार १ सय २६ रुपियाँ कटाई बाँकी रकम मध्ये सम्पत्तिमा ह्रास कट्टा खर्च वापत ८ लाख ९६ हजार ७ सय ८४ कात्त गरि बाँकी रकममा कर्जाको लागि व्यवस्था वापत ६ लाख ४७ हजार ५ सय ५३ समेत व्यवस्था रकम घटाई खुद मुनाफा १ करोड ५२ लाख ५८ हजार ७ सय ५३ मा सहकारी नियमानुसार १० प्रतिशतले लाग्ने कर वापत १५ लाख २५ हजार ८ सय ७५ छुट्ट्याई बाँकी रकम १ करोड ३७ लाख ३२ हजार ८ सय ७८ रुपियाँ विभिन्न कोषमा बाँडफाँड गरेको छ ।

साधारणसभाले संस्थामा रिक्त रहेको कोषाध्यक्ष पदमा सर्वसम्मत राजन थापालाई चयन गरेको छ ।

२०६४ सालमा स्थापित सहकारीमा स्थानीय १ हजार ९ सयभन्दा बढी सेयर सदस्य रहेका छन् । संस्थाले करिब ३ करोड लगानी गरेर बाबाचोकमा आफ्नै भवन निर्माण गरेको छ ।

यो पनि पढ्नुहोस्- लक्ष्मीनारायण सहकारीद्धारा ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम’ संचालन


प्रतिकृया दिनुहोस्